राजस्वमा सुधारको संकेत

हेटौँडा । बागमती प्रदेश सरकार ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ।

प्रदेश सरकारले साउनदेखि फागुनसम्म रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। सो लक्ष्यको तुलनामा ४५ दशमलव १३ प्रतिशत अर्थात् रु १३ अर्ब ९३ करोड ९७ लाख १५ हजार राजस्व सङ्कलन भएको आर्थिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत सुरज पौडेल ले जानकारी दिए।

प्रदेश सरकारको प्रमुख आयस्रोतका रूपमा रहेको घरजग्गा रजिष्ट्रेशन (मालपोत) शीर्षकबाट चालु आवमा रु सात अर्ब ७० करोड सङ्कलन गर्ने लक्ष्य राखिएकोमा आठ महिनामा रु दुई अर्ब ५६ करोड दुई लाख चार हजार मात्र राजस्व उठेको छ।

त्यस्तै, सवारी साधन जाँचपास, रुट पर्मिट, सवारी चालक अनुमतिपत्र वितरण तथा नवीकरणमार्फत सवारी कर शीर्षकबाट रु आठ अर्ब २५ करोड सङ्कलन गर्ने अनुमान गरिएकोमा हालसम्म रु चार अर्ब ४४ करोड ९३ लाख ४० हजार राजस्व सङ्कलन भएको छ।

प्रदेशले बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि करतर्फ रु आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरेकोमा रु पाँच अर्ब चार करोड ६५ लाख १७ हजार सङ्कलन भएको छ। अन्तःशुल्क करतर्फ रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार अनुमान गरिएकोमा रु एक अर्ब ७५ करोड तीन लाख ३६ हजार मात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ।

यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा आठ महिनामा ५३ दशमलव ६० प्रतिशत अर्थात् रु सात अर्ब ९४ करोड २७ लाख ५६ हजार प्राप्त भएको छ।

प्रदेश सरकारको आन्तरिक स्रोतबाट रु चार अर्ब ७७ करोड ७४ लाख २५ हजार सङ्कलन हुने अनुमान गरिएकामा आठ महिनामा ५२ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई अर्ब ५० करोड १२ लाख १८ हजार राजस्व सङ्कलन भएको छ।

अधिकृत पौडेलका अनुसार आर्थिक तरलताको समस्या, घरजग्गा तथा नयाँ सवारी साधन खरिद–बिक्रीमा आएको गिरावट तथा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का क्रममा राजस्व सङ्कलन गर्ने निकायहरूमा पुगेको क्षतिका कारण अपेक्षाअनुसार राजस्व उठ्न नसकेको हो।

यद्यपि, चालु आर्थिक वर्षको प्रगति क्रमशः सुधारोन्मुख रहेको र आगामी महिनाहरूमा लक्ष्य हासिल गर्ने सम्भावना रहेको प्रदेश सरकारले जनाएको छ।