बजार अनुगमनमा कडाइ

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ।

विभागका अनुसार दशरथ ग्रोसरी प्रालि, इमाडोललाई ५० हजार रुपैयाँ, शाह एण्ड शाह इन्टरप्राइजेज, सूर्यविनायक–बालकोटलाई १० हजार रुपैयाँ तथा ए एण्ड ए सपिङ सेन्टर, महालक्ष्मी–५ टिकाथलीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

स्थलगत अनुगमनका क्रममा ती फर्महरूले कानुन विपरीत कारोबार गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

यसका साथै, थप १५ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ। विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ।