इन्धन आयातमा विस्तार

वीरगन्ज । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा पेट्रोलियम पदार्थको आयात उल्लेखनीय रूपमा बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा कुल एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयातमा वृद्धि भएको कार्यालयले जनाएको छ। पेट्रोलियम पदार्थको आयातबाट मात्रै ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

विवरणअनुसार यस अवधिमा ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात गरिएको छ। त्यस्तै, २५ अर्ब ३० करोड रुपैयाँ बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात भएको छ।

यस्तै, २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको तथ्यांकमा उल्लेख छ।

इन्धनको बढ्दो मागसँगै आयातमा वृद्धि भएको देखिएको छ भने यसले राजस्व सङ्कलनमा पनि उल्लेखनीय योगदान पुर्‍याएको छ।