काठमाडौँ । नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित एसएसके मिडिया ले ‘मिस टुरिज्म क्विन वर्ल्डवाइड’ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।
शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २०२६ जुन १५ (२०८२ जेठ २) मा काठमाडौँमा हुने जानकारी दिएका छन्।
आयोजकका अनुसार यो प्रतियोगिता नेपालको पर्यटन, भेषभूषा, कला, संस्कृति, परम्परा र भाषालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो। यसले नेपाललाई विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
एसएसके मिडियाका अध्यक्ष सन्तोष सिलवाल ले यो प्रतियोगिता पर्यटन केन्द्रित नयाँ अवधारणामा आधारित पहिलो कार्यक्रम भएको बताए। उनका अनुसार प्रतियोगितामार्फत सहभागीहरूले नेपालको सांस्कृतिक सम्पदा र पर्यटनबारे गहिरो जानकारी हासिल गर्नेछन्।
प्रतियोगितामा १६ देखि २९ वर्ष उमेर समूहका युवतीहरूले सहभागिता जनाउन सक्नेछन्। आयोजकले कम्तीमा २५ जना प्रतिस्पर्धी सहभागी गराउने लक्ष्य राखेको छ।
छनोट भएका प्रतियोगीहरूलाई १५ दिने विशेष प्रशिक्षण दिइनेछ। यस अवधिमा उनीहरूलाई प्रमुख पर्यटकीय गन्तव्य भ्रमण, व्यावसायिक फोटोसुट तथा नेपालको पर्यटन र इतिहाससम्बन्धी कक्षाहरू प्रदान गरिनेछ।
प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ नगद, उपहार सामग्री र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। त्यस्तै प्रथम उपविजेताले २५ हजार रुपैयाँसहित पोखरा भ्रमण प्याकेज प्राप्त गर्नेछिन्। सबै सहभागीहरूलाई निःशुल्क IELTS वा जापानी भाषा कक्षा तथा कम्प्युटर तालिम पनि उपलब्ध गराइनेछ।
कार्यक्रममा सुगरिका केसी, दिक्पाल कार्की, आनन्द कार्की लगायतका कलाकारहरूको उपस्थिति रहनेछ। विशेष अन्तर्राष्ट्रिय अतिथिका रूपमा नोबेल किङ रियो साकागुची र उनको फेसन टोली पनि सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्देश्य ‘ब्रान्ड नेपाल’लाई विश्व बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्दै नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई उजागर गर्नु रहेको आयोजकहरूको भनाइ छ।
प्रतियोगितामा सहभागी हुन रु ५ हजार दर्ता शुल्क तोकिएको छ। मेकअप पार्टनरका रूपमा फेसियल हाउस र शिक्षा पार्टनरका रूपमा मेगाटेक भ्यालु एजुकेशन कन्सल्टेन्सी रहनेछन्। अन्य प्रायोजकहरू पनि थपिने अपेक्षा गरिएको छ।
