काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सार ले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाल लाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिएका छन्।
मन्त्री खनाललाई पठाइएको सन्देशमा इजरायली परराष्ट्रमन्त्री सारले नेपाल–इजरायलबीचको ऐतिहासिक मैत्री सम्बन्धलाई अझ मजबुत बनाउन आफू निकट सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।
काठमाडौंस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र श्रम क्षेत्रलगायतका प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले दुवै देशबीच पारस्परिक हितमा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउँदै भविष्यमा सहकार्यका नयाँ अवसरहरू विस्तार गर्ने अपेक्षा समेत व्यक्त गरेका छन्।
नेपाल र इजरायलबीच लामो समयदेखि रहँदै आएको मित्रतालाई अझ गहिरो बनाउन दुवै पक्ष सकारात्मक रहेको संकेत सन्देशमा उल्लेख गरिएको छ।
