हर्मोज रणनीति चर्चा

काठमाडौं । इजरायल र संयुक्त राज्य अमेरिकासँगको तनावबीच इरानले विश्व ऊर्जा व्यापारलाई प्रभावित पार्ने गरी नयाँ रणनीतिक सर्त अघि सारेको छ। इरानी अधिकारीहरूले विश्वकै सबैभन्दा महत्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्ग मानिने स्ट्रेट अफ हर्मोज मा आफ्नो पूर्ण सार्वभौमसत्ता कायम गर्न माग गरेका छन्।

विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को करिब पाँचौँ हिस्सा ओसारपसार हुने यो साँघुरो जलमार्गलाई इरानले आर्थिक तथा रणनीतिक दबाबको प्रमुख माध्यमका रूपमा प्रयोग गर्न खोजिरहेको देखिएको छ।

इरानले यस मार्गलाई केवल भूराजनीतिक दबाबको क्षेत्र मात्र नभई वार्षिक अर्बौँ डलर आम्दानी हुने स्रोतका रूपमा विकास गर्ने योजना अघि सारेको छ। विगतमा अवरोध गर्ने चेतावनी दिँदै आएको इरानले यसपटक वास्तविक नियन्त्रणमार्फत विश्व व्यापार प्रणालीमा प्रभाव बढाउने संकेत दिएको विश्लेषण गरिएको छ।

हालको तनावका कारण यस जलमार्गबाट हुने ढुवानी प्रभावित भएपछि विश्व ऊर्जा आपूर्तिमा चाप बढेको र मूल्य वृद्धिको जोखिम देखिएको छ। यदि ढुवानीमा दीर्घकालीन अवरोध भएमा इन्धन मूल्य वृद्धि हुँदै विश्वव्यापी महँगी बढ्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।

अमेरिकी पक्षले भने इरानको कदमप्रति कडा आपत्ति जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसलाई अवैध र विश्व अर्थतन्त्रका लागि जोखिमपूर्ण भन्दै अन्तर्राष्ट्रिय समुदायलाई साझा रणनीति बनाउन आग्रह गरेका छन्।

इरानका तर्फबाट पनि यस विषयलाई लिएर कडा अडान देखिएको छ। संसदमा छलफलमा रहेको एक प्रस्तावअनुसार जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क उठाउने व्यवस्था गर्ने तयारी भइरहेको छ।

यदि यो योजना लागू भएमा इरानले ठूलो आर्थिक लाभ लिन सक्ने अनुमान गरिएको छ। विज्ञहरूका अनुसार यस मार्गबाट दैनिक लाखौँ ब्यारेल तेल ढुवानी हुने भएकाले शुल्क प्रणाली लागू भएमा मासिक अर्बौँ डलर बराबर आम्दानी हुन सक्ने सम्भावना छ।

तर अन्तर्राष्ट्रिय कानुनका विज्ञहरूले भने यस्तो निर्णय अन्तर्राष्ट्रिय समुद्री कानुन विपरीत हुने बताएका छन्। उनीहरूका अनुसार अन्तर्राष्ट्रिय जलमार्गमा सबै देशका जहाजलाई अवरोधरहित आवागमनको अधिकार हुन्छ।

यद्यपि इरानले आफू सम्बन्धित महासन्धिको पक्ष राष्ट्र नभएको दाबी गर्दै आफ्नो अडानलाई कानुनी रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ।

हाल केही जहाजहरूले वैकल्पिक मार्ग प्रयोग गर्दै र केहीले शुल्क तिरेर सुरक्षित यात्रा गरिरहेको रिपोर्टहरू सार्वजनिक भएका छन्। यस घटनाले विश्व ऊर्जा बजारमा नयाँ तनाव सिर्जना गरेको छ।