काठमाडौँ। शिक्षामन्त्री सस्मित पोखरेल ले विद्यालय तथा उच्च शिक्षामा भर्नाका लागि सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा (प्रवेश परीक्षा तयारी कक्षा) र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएका छन्। उनका अनुसार आगामी वैशाख १ गतेदेखि यस्ता कक्षाहरू सञ्चालन गर्न नपाइने निर्णय गरिएको हो।
मन्त्रालयले पछिल्लो समय यस्ता कक्षाहरूले शिक्षा क्षेत्रमा असमान पहुँच सिर्जना गर्नुका साथै विद्यार्थी र अभिभावकमाथि अनावश्यक आर्थिक भार बढाएको ठहर गरेको छ। शिक्षालाई सबैका लागि समान र सहज बनाउनुपर्ने आवश्यकताविपरीत यस्ता गतिविधिले प्रतिस्पर्धालाई अस्वस्थ बनाएको भन्दै सरकार कडाइका साथ अघि बढेको हो।
निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिँदै मन्त्री पोखरेलले जिल्ला प्रशासन कार्यालयमार्फत अनुगमन तथा नियमन गरिने बताएका छन्। नियमविपरीत सञ्चालन हुने कक्षाहरूलाई कानुनी दायरामा ल्याइने समेत स्पष्ट पारिएको छ।
सरकारको यस निर्णयले शिक्षा क्षेत्रमा समानता कायम गर्न, अतिरिक्त आर्थिक बोझ घटाउन र विद्यार्थीलाई अनावश्यक दबाबबाट मुक्त गराउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, समग्र शिक्षा प्रणालीलाई थप व्यवस्थित र गुणस्तरीय बनाउनेतर्फ यो कदम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।