सुशासनतर्फ सरकारको तीव्र गति

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन अभियानलाई थप तीव्र बनाउने संकेत दिएको छ। प्रधानमन्त्री शाहले आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

यो बैठक नियमित प्रशासनिक प्रक्रिया मात्र नभई सरकारको ‘हन्ड्रेड डेज’ (१०० दिने) कार्ययोजनाको निर्णायक चरणका रूपमा हेरिएको छ। प्रधानमन्त्री शाहले सत्ता सम्हालेयता नै आक्रामक शैलीमा काम गर्दै आएको सन्दर्भमा आजको बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।

सरकारले सार्वजनिक गरेको १०० दिने महत्त्वाकांक्षी कार्यसूचीलाई तीव्र गतिमा कार्यान्वयन गर्ने तयारी भइरहेको जनाइएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर राज्य संयन्त्रलाई सक्रिय बनाउने रणनीतिमा सरकार अघि बढिरहेको छ।

यसैबीच, जेनजी आन्दोलनमा भएको दमन प्रकरणलाई लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक माथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको सन्दर्भले सरकारको कदमप्रति थप चासो बढाएको छ।

सरकारी स्रोतका अनुसार विभिन्न फाइलहरू खोल्ने र ठूला अनियमिततामा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्ने प्रक्रिया निरन्तर जारी रहनेछ। आजको मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन र विधिको शासन सुदृढ गर्न महत्वपूर्ण निर्णयहरू लिन सक्ने अपेक्षा गरिएको छ।

सरकारको पछिल्लो सक्रियताले राज्य संयन्त्रलाई थप गतिशील बनाउने र नागरिकमा विश्वास अभिवृद्धि गर्ने लक्ष्य लिइएको बताइएको छ।