काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिको प्रक्रिया सहज बनाउँदै टोकन प्रणाली अन्त्य गर्ने निर्णय गरेको छ। अबदेखि श्रमिकहरूले आवेदन दिएको दिनमै श्रम स्वीकृति पाउने व्यवस्था लागू गरिने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का अनुसार आइतबार मन्त्री दीपककुमार साह को उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो। यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै श्रम स्वीकृति दिने व्यवस्था थियो।
बैठकले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई पनि डिजिटल बनाउने निर्णय गरेको छ। तालिम पाठ्यक्रममा आधारित श्रव्य–दृश्य सामग्री निर्माण गरी अनलाइन माध्यमबाट उपलब्ध गराइनेछ भने अभिमुखीकरण तालिम पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाइने जनाइएको छ।
त्यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा कोष मा सबै श्रमिकलाई आवद्ध गर्न अभियान सञ्चालन गरिनेछ। श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्ने तथा श्रमिकको हकहित संरक्षणमा जोड दिइने मन्त्रालयले जनाएको छ।
श्रमाधान योजनालाई आन्तरिकीकरण गर्दै श्रमाधान कल सेन्टरलाई थप प्रभावकारी बनाउने, औद्योगिक प्रतिष्ठानहरूमा जोखिम मूल्याङ्कन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने निर्णय पनि गरिएको छ। साथै, उत्पादन र उद्यमशीलता प्रवर्द्धन गरी आन्तरिक रोजगारी सिर्जना गर्ने तथा थप पाँच मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने योजना अघि सारिएको छ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमाथि पनि छलफल भएको थियो। सो अवसरमा मन्त्री साहले श्रम क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन तत्काल कार्ययोजना तयार गरी कार्यान्वयन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
