झापा । मेची राजमार्ग मा पहिरोका कारण पुनः अवरोध सिर्जना भएको छ। गए राति पहिरो पन्छाएर एकतर्फी रूपमा सञ्चालनमा आएको सडक आज बिहान फेरि पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बिहान खसेको पहिरोले यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको जानकारी दिएकी छन्।
यसअघि साँझ सुक्खा पहिरोका कारण अवरुद्ध भएको राजमार्ग राति करिब १०:५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। तर, बिहानै पुनः पहिरो झरेपछि अवस्था जटिल बनेको हो।
रोङ गाउँपालिका–४ बागखोर स्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ। सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक समेत पुरिएको छ।
हाल घटनास्थलमा सडक खुलाउने काम तीव्र पारिएको छ भने यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन आग्रह गरिएको छ।
