काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ को अवसरमा लोपोन्मुख तथा परम्परागत नेपाली लोक बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आकर्षक साजसज्जामा नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ।
बैंकले सम्पूर्ण ग्राहक तथा सरोकारवालामा नयाँ वर्षले आशा, भरोसा र उमंग ल्याओस् भन्ने शुभेच्छासहित नेपाली लोक बाजा संग्रहालयको सहकार्यमा उक्त क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ।
सार्वजनिक गरिएको भित्ते तथा टेबल क्यालेन्डरमा देशका विभिन्न क्षेत्र, समुदाय र चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्व बोकेका लोकप्रिय र लोपोन्मुख लोक बाजा तथा तिनका बजाउने शैलीसहितका तस्बिरहरू समेटिएका छन्।
बैंकका अनुसार यस्ता लोक तथा सांस्कृतिक बाजाहरू नेपाली संस्कृति, परम्परा र पहिचानका महत्वपूर्ण प्रतीक मात्र नभई अमूल्य सांस्कृतिक सम्पदा पनि हुन्। क्यालेन्डरमार्फत यिनको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
यसका साथै क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेखित सार्वजनिक बिदा, चाडपर्व, दिवस तथा पञ्चांगका महत्वपूर्ण तिथिहरू समेत समावेश गरिएको छ।
ग्राहक तथा इच्छुक व्यक्तिहरूले बैंकको आधिकारिक वेबसाइटमार्फत भित्ते तथा टेबल क्यालेन्डर सहजै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
