काठमाडौं । स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कडा चेतावनी दिएको छ। बीमा सेवा दिन आनाकानी गरे कानुनअनुसार कारबाही गरिने बोर्डले स्पष्ट पारेको छ।
विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूले बीमित बिरामीलाई सेवा दिन ढिलाइ गर्ने, आवश्यक सुविधा उपलब्ध नगराउने तथा उपचारमा बेवास्ता गर्ने गुनासा बढेपछि बोर्डले यस्तो चेतावनी दिएको हो।
बोर्डका अनुसार बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही स्वास्थ्य संस्थाबाट सेवाग्राहीलाई दुःख दिने, अग्रिम समय लिन बाध्य पार्ने तथा बीमितप्रति भेदभावपूर्ण व्यवहार गर्ने जस्ता समस्या देखिएका छन्। साथै, आवश्यक औषधि तथा सेवा सुविधा उपलब्ध नगराइएकोप्रति पनि बोर्डको ध्यानाकर्षण भएको छ।
स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत कुनै पनि गतिविधि नगर्न बोर्डले निर्देशन दिएको छ। सेवाग्राहीलाई सहज, सरल र प्रभावकारी रूपमा स्वास्थ्योपचार सेवा उपलब्ध गराउन पनि बोर्डले सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।
अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्था नियमविपरीत कार्यमा संलग्न भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार कारबाही गरिने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
