प्लास्टिकमुक्त अभ्यास सुरु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यसहित मन्त्रालयले यस्तो निर्णय लागू गरेको हो।

मन्त्रालयका अनुसार प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पारेको नकारात्मक असर न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार यो कदम चालिएको हो।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएअनुसार यो निर्णयले सरकारी निकायमा अनुकरणीय अभ्यासको सुरुवात गर्ने अपेक्षा गरिएको छ। साथै, यसले अन्य मन्त्रालय तथा सरोकारवाला निकायहरूलाई पनि सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिएको छ।

मन्त्रालयले आगामी दिनमा कार्यालय सञ्चालनलाई थप वातावरणमैत्री बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्न यस्ता कार्यक्रम विस्तार गर्ने जनाएको छ।