काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन आगामी चैत २९ र ३० गते (अप्रिल ११ र १२) हुने तयारीसँगै चुनावी माहोल तातिएको छ।
निर्वाचनको सन्दर्भमा अञ्जन श्रेष्ठ नेतृत्वको प्यानलबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरेले विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। “सुरक्षित निजी क्षेत्र: सशक्त महासंघ” भन्ने अवधारणासहित प्रस्तुत गरिएको उक्त प्रतिबद्धतापत्रले व्यक्तिगत स्वार्थभन्दा सदस्य केन्द्रित, पारदर्शी र सक्रिय संस्था निर्माण गर्ने लक्ष्य राखेको छ।
घिमिरे समूहको प्रतिबद्धतापत्रमा महासंघलाई थप प्रभावकारी बनाउन पाँच प्रमुख रणनीतिक आधार प्रस्तुत गरिएको छ।
पहिलो, संरचनागत सुधार र सचिवालय आधुनिकीकरणअन्तर्गत एफएनसीसीआई सचिवालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउने, डिजिटल प्रणाली लागू गर्ने तथा दक्ष जनशक्ति व्यवस्थापन गर्ने योजना समेटिएको छ।
दोस्रो, नीति पैरवी र वस्तुगत परिषद सशक्तीकरणअन्तर्गत सरकारी नीति निर्माणमा महासंघको अनिवार्य सहभागिता सुनिश्चित गर्ने, भन्सार दर घटाउने तथा सार्वजनिक आयोजनाका बक्यौता भुक्तानी सुनिश्चित गराउने विषय समावेश छन्।
तेस्रो, कृषि तथा स्टार्टअप नवप्रवर्तनमा साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्दै मध्यस्थकर्ताको प्रभाव हटाएर उत्पादनदेखि बजारसम्मको मूल्य शृंखला निर्माण गर्ने योजना प्रस्तुत गरिएको छ।
चौथो, ऊर्जा सुरक्षा र पर्यटन विकासअन्तर्गत ३ देखि ६ महिनासम्मको ऊर्जा भण्डारण सुनिश्चित गर्ने तथा नेपाललाई प्रतिस्पर्धी पर्यटन गन्तव्य बनाउन शुल्क तथा कर नीतिमा सुधारको पहल गर्ने उल्लेख छ।
पाँचौँ, निजी क्षेत्रको प्रतिष्ठा संरक्षणमा नीति स्थिरता, लगानी सुरक्षा र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्ने विषयमा जोड दिइएको छ।
निर्वाचन नजिकिँदै गर्दा महासंघभित्र विभिन्न प्यानलबीच प्रतिस्पर्धा चर्किएको छ। घिमिरे–अञ्जन श्रेष्ठ प्यानललाई स्पष्ट कार्ययोजना र समयबद्ध प्रतिबद्धताका आधारमा सकारात्मक रूपमा हेरिएको छ भने प्रतिस्पर्धी समूहको दृष्टिकोण अझ स्पष्ट हुन बाँकी रहेको टिप्पणी गरिएको छ।
घिमिरेले प्रतिबद्धता कागज मात्र नभई वार्षिक सार्वजनिक अडिट र मूल्यांकनमार्फत कार्यान्वयन सुनिश्चित गरिने बताएका छन्। आगामी निर्वाचनले निजी क्षेत्रको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
