काठमाडौं । गृह मन्त्री सुदन गुरुङले नेपाल प्रहरीका पोशाक अब देशभित्रै उत्पादन गर्ने तयारी गरिएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यक सामग्री आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने स्पष्ट पारे।
मन्त्री गुरुङका अनुसार प्रस्तावित पोशाक उत्पादन कारखाना राजधानी बाहिर ग्रामीण क्षेत्रमा स्थापना गरिनेछ। यसले स्थानीय स्तरमा औद्योगिकीकरण विस्तार गर्नुका साथै ग्रामीण जनतालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने अपेक्षा गरिएको छ।
सरकारले यस कदममार्फत स्वदेशी उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना र सुरक्षाकर्मीका लागि आवश्यक सामग्री समयमै तथा गुणस्तरीय रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ।
मन्त्री गुरुङले स्वदेशमै उत्पादन भएमा आपूर्ति सहज हुने मात्र नभई राष्ट्रिय उद्योग विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
त्यसैगरी, उनले नेपाल प्रहरीका कर्मचारीको कार्य वातावरण र पोषणस्तर सुधारमा पनि जोड दिएका छन्। दिनरात उच्च दबाबमा काम गर्ने सुरक्षाकर्मीका लागि आवश्यक सुविधा र पोषण सुधार अनिवार्य भएको उनले बताए।
मन्त्रालयले यससम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइसकेको र कार्यान्वयन चरणमा प्रवेश गर्न तयारी भएको पनि मन्त्री गुरुङले जानकारी दिएका छन्।
