काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा १३ औं अधिवेशन मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ।
काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित विशेष समारोहसँगै तीन दिने कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो। चैत १७, १८ र १९ गतेसम्म सञ्चालन हुने अधिवेशनमा देशभरका निर्माण व्यवसायी प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको महासंघले जनाएको छ।
महासंघले यस अधिवेशनलाई निर्माण क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू समाधान गर्ने तथा आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
अधिवेशनबाट महासंघको नयाँ नेतृत्व चयन गरिनेछ। आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने तयारी भइरहेको छ भने नेतृत्वका लागि आकांक्षीहरूबीच चुनावी प्रतिस्पर्धा तीव्र बनेको छ।
अध्यक्ष पदका प्रत्यासीहरूले आ–आफ्ना प्यानल बनाएर चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन्। उनीहरूले निर्माण व्यवसायलाई मर्यादित बनाउने, सार्वजनिक खरिद नियमावलीका समस्या समाधान गर्ने तथा व्यवसायीहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
महासंघको यो अधिवेशनले देशभरका करिब १७ हजारभन्दा बढी निर्माण व्यवसायीका साझा मुद्दालाई सम्बोधन गर्दै निर्माण उद्योगलाई थप सुदृढ र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
