काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष तथा आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रका एजेन्डालाई सरकारको प्राथमिकतामा राख्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
महासंघको ६०औँ वार्षिक साधारणसभा सन्दर्भमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले वर्तमान नेतृत्वको सफलताको स्वामित्व लिँदै आगामी कार्यकालमा थप चुनौती सामना गर्न आफू तयार रहेको बताए। उनले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल ऐतिहासिक रूपमा सफल रहेको उल्लेख गरे।
उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई त्यसका सुझावहरू कार्यान्वयन चरणमा रहेको भन्दै वर्तमान सरकार निजी क्षेत्रका एजेन्डाप्रति सकारात्मक रहेको धारणा व्यक्त गरे।
ढकालले आफू र अन्य उम्मेदवारहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै महासंघभित्र गुटबन्दीभन्दा एकताबद्ध टिमका रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। उनले वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेश दास, जिल्ला नगरतर्फका उम्मेदवार उमेश डालमिया, कल्पना गैह्रे तथा एसोसिएटतर्फका उम्मेदवारहरूको पनि प्रशंसा गरेका छन्।
उनका अनुसार विगतमा अख्तियारको क्षेत्राधिकार निजी क्षेत्रमा प्रवेश रोक्ने, लगानी सम्मेलन गर्ने, कानुन संशोधन गर्ने तथा सीआईपी अवार्ड पुनः सुरु गर्ने जस्ता कामहरू भएका छन्। साथै, अर्थमन्त्रीले आन्तरिक राजस्व अनुसन्धान विभाग खारेज गर्ने र पुराना १५ वटा कानुन खारेज गर्ने पहलले व्यवसायीमा उत्साह थपेको उनले बताए।
ढकालले जलस्रोत, पर्यटन, उद्योग र कृषिको तीव्र विकासमार्फत रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै आगामी लक्ष्य आर्थिक वृद्धिदर ‘डबल डिजिट’ पुर्याउनु रहेको बताए।
मुलुकको वर्तमान आर्थिक संकुचन र युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले नेपालमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। साथै, विगत तीन वर्षमा महासंघको जिम्मेवारी निर्वाहमा आफू निरन्तर सक्रिय रहेको उल्लेख गर्दै अनुभव र प्रतिबद्धताका आधारमा सहयोग गर्न उद्योगी–व्यवसायीलाई अपिल गरेका छन्।
