काठमाडौँ । नेपाल राष्ट्र बैंक ले परिपक्व भएको बचतपत्रको साँवा तथा ब्याज रकम यथाशीघ्र भुक्तानी लिन सम्बन्धित लगानीकर्तालाई आग्रह गरेको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र लिएका लगानीकर्ताले २०८१ जेठ मसान्तसम्म परिपक्व भएका तर हालसम्म भुक्तानी नलिएका रकम तुरुन्त बुझ्न अनुरोध गरेको हो।
विभागले जारी गरेको सूचनामा भनिएको छ, “नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशीघ्र सम्पर्क गरी भुक्तानी लिनुहुन अनुरोध छ।”
राष्ट्र बैंकले सम्बन्धित लगानीकर्तालाई आवश्यक कागजातसहित नजिकको कार्यालय वा सम्बन्धित निकायमा सम्पर्क गरी भुक्तानी प्रक्रिया पूरा गर्न समेत आग्रह गरेको छ।
