सागर ढकालको उम्मेदवारी घोषणा, बजार सुधारमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्षसमेत हुन्।

ढकालले वस्तुगत तर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट उम्मेदवारी दिएका हुन्। उम्मेदवारी घोषणा गर्दै उनले महासंघभित्र रहेर देशको अर्थतन्त्र सुधार तथा व्यवसायीमैत्री नीति निर्माणका लागि सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य रहेको बताए।

उनका अनुसार विभिन्न वस्तुगत संघहरूमा देखिएका कानुनी तथा व्यवहारिक समस्याको समाधानका लागि सरकारसँग बहस, पैरवी र नीतिगत लबिङ गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको हो।

ढकालले नेपालको पुँजी बजारमा करिब ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको उल्लेख गर्दै यस क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताए। हाल करिब ५० खर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको पुँजी बजारलाई समग्र अर्थतन्त्रको ऐनाका रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ।

उनले धितोपत्र ऐन २०६३ तथा सम्बन्धित नियमावलीहरूलाई समयसापेक्ष परिमार्जन गर्न पहल गर्ने प्रतिबद्धता जनाए। साथै मार्जिन ट्रेडिङ, इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरण विस्तारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने बताए।

साना तथा मझौला व्यवसायलाई पूँजी जुटाउन सहज बनाउन एसएमई प्लेटफर्म र ओटी मार्केट पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता पनि उनले औंल्याए।

त्यसैगरी, कमोडिटिज, फरेन करेन्सी र बुलियन एक्सचेन्ज स्थापना गर्न नियामक निकाय र लगानीकर्ताबीच पुलको भूमिका निर्वाह गर्ने तथा गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई नेपाली पुँजी बजारमा आकर्षित गर्न स्पष्ट नीति आवश्यक रहेको उनले बताए।