काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको समर्थन प्राप्त उक्त समूहले हनुमान जयन्तीको अवसर पारेर टेकुस्थित महासंघ कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको हो ।
वस्तुगततर्फकै अध्यक्षहरूका अनुसार अध्यक्ष ढकाल र उपाध्यक्ष हेमराज ढकाल दुवैको समर्थन पाएको नरेशलाल समूह यसपटक सबैभन्दा बलियो र सशक्त देखिएको छ । गत निर्वाचनमा हेमराज ढकालले एक्लै नेतृत्व गर्दा पनि उच्च मतसहित विजयी हुँदै बहुमत सदस्य आफ्नै टिमबाट जिताएका थिए । यसपटक भने अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत खुलेको समर्थनले सो समूहलाई थप मजबुत बनाएको बताइएको छ ।
गत निर्वाचनमा तटस्थ बसेका अध्यक्ष ढकाल यसपटक हेमराज ढकाल समूहको पक्षमा खुलेपछि चुनावी समीकरण नै बदलिएको बताइन्छ । सोही समूहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठसहितको प्यानलले एकसाथ उम्मेदवारी दर्ता गराएको हो ।
नरेशलाल श्रेष्ठ समूहबाट सदस्य पदका लागि कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरीबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गाप्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी महासंघको प्रतिनिधित्व गर्ने सदस्यतर्फ सुनैना घिमिरे पाण्डे र सुधिर पराजुलीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले आफ्नो समूह समावेशी र सशक्त रहेको दाबी गर्दै विजय सुनिश्चित रहेको बताए । उनले कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, सूचना प्रविधि, घरजग्गा व्यवसाय, जलविद्युतलगायत विविध क्षेत्रलाई समेटेर टिम निर्माण गरिएको जानकारी दिए ।
उनका अनुसार सबै क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै बनाइएको यो समूहले महासंघमा प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।
