काठमाडाैं । सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको प्राथमिक शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले चैत ८ गतेदेखि बिक्री खुला गरेको उक्त प्राथमिक शेयरमा अब स्थानीयले २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिएको छ ।
कम्पनीले आफ्नो कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको १० प्रतिशत बराबर २८ करोड ५० लाख रुपैयाँको २८ लाख ५० हजार कित्ता शेयर स्थानीय बासिन्दाहरूका लागि छुट्ट्याएको हो ।
यसअन्तर्गत अति प्रभावित क्षेत्र बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का बासिन्दाहरूका लागि १८ लाख ५२ हजार ५०० कित्ता शेयर छुट्याइएको छ । त्यसैगरी, सोही नगरपालिकाका अन्य वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरूका लागि ९ लाख ९७ हजार ५०० कित्ता शेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।
उक्त प्राथमिक शेयरमा इच्छुक स्थानीय लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई समयमै सहभागिता जनाउन आग्रह गर्दै वैशाख ७ गतेभित्र आवेदन प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।
