वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको छ । यस अवधिमा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्यका चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधनबाट रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने रु ४३ करोड १ लाख मूल्यका १६५ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका थिए । ती सवारीसाधनबाट रु ३५ करोड ५० लाख राजस्व सङ्कलन भएको थियो । यस आधारमा विद्युतीय सवारी आयातमा उल्लेखनीय वृद्धि देखिएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार विद्युतीय सवारीप्रति आकर्षण बढ्दै जाँदा आयातमा ठूलो वृद्धि भएको हो । चालु आवको सोही अवधिमा रु ८० करोड ५७ लाख मूल्यका एक हजार १२८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा भने रु ४४ करोड ३ लाख मूल्यका तीन हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
यता, इन्धनबाट चल्ने सवारीसाधनको आयात भने घट्दो देखिएको छ । चालु आवको आठ महिनामा रु एक अर्ब १६ करोड १३ लाख मूल्यका छ सय नौ वटा इन्धनचालित जिप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधनबाट रु दुई अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ । जबकि गत आवको सोही अवधिमा रु एक अर्ब ५० करोड मूल्यका सात सय ४८ वटा सवारीसाधन आयात भएका थिए र रु तीन अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो ।
समग्रमा चालु आवको आठ महिनामा वीरगन्ज नाकाबाट रु २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । गत आवको सोही अवधिमा रु १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो ।
विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगले वातावरणमैत्री यातायाततर्फको झुकाव बढ्दै गएको संकेत गरेको छ ।
