काठमाडौं । नेपालको फिनटेक क्षेत्रलाई थप सुदृढ र आधुनिक बनाउने उद्देश्यसहित सिटी वालेट प्रा. लि. र छिटो पैसा प्रा. लि. बीच मर्जर हुने भएको छ । कम्पनीहरूले यो मर्जर प्रक्रियालाई अन्तिम चरणमा पुर्याउँदै आगामी २०८३ साल वैशाख ०२ गतेलाई ‘प्रस्तावित माइग्रेसन मिति’ तोकेका छन् ।
मर्जरपछि छिटो पैसाका सबै सेवाग्राहीहरू सिटीपे वालेटको अत्याधुनिक डिजिटल इकोसिस्टममा आबद्ध हुनेछन् । यस कदमलाई नेपालको डिजिटल भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ ।
विशेषगरी राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध राइडर, क्याप्टेन तथा सेवा प्रदायकहरूका लागि यो मर्जरलाई ‘अल–इन–वन’ समाधानका रूपमा लिइएको छ । अब उनीहरूले विभिन्न वालेट प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउँदै एउटै एपमार्फत सबै भुक्तानी सुविधा उपयोग गर्न सक्नेछन् ।
सिटीपे वालेटमार्फत राइडरहरूले बक्यौता र जरिवाना तुरुन्त भुक्तानी गरी आफ्नो खाता सक्रिय राख्न सक्ने व्यवस्था हुनेछ । साथै, राइडरहरूका लागि विशेष क्यासब्याक र लोयल्टी रिवार्ड्स सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सिटीपे उच्चस्तरीय इन्क्रिप्शन प्रविधिद्वारा सुरक्षित रहेको कम्पनीले जनाएको छ । एपमार्फत प्रयोगकर्ताहरूले वाइड मर्चेन्ट नेटवर्कमार्फत लाखौँ व्यापारिक स्थानमा भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई तथा बस टिकट बुकिङ सेवा र सरकारी भुक्तानी प्रणाली समेत उपलब्ध हुनेछ ।
सिटीपे वालेटका सीईओ विनय रेग्मीले मर्जरलाई सेवाग्राहीका लागि सुविधा, सुरक्षा र लाभ विस्तार गर्ने ऐतिहासिक कदमको रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यो मर्जरले डिजिटल भुक्तानी प्रणालीलाई अझ सहज र प्रभावकारी बनाउनेछ ।
सेवाग्राहीहरूले यो सेवा गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
