अनलाइन सट्टेबाजीमा कडाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी (बेटिङ) विरुद्ध कडा कदम चालेको छ । मन्त्रालयको निर्देशनपछि नेपालमा सञ्चालनमा रहेका ७ हजारभन्दा बढी अनलाइन सट्टेबाजीसँग सम्बन्धित मोबाइल एप र वेबसाइटहरू बन्द गरिएको छ ।

मन्त्रालयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई परिपत्र गर्दै यस्ता अवैध एप र यूआरएलहरू ब्लक गर्न निर्देशन दिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले चैत १५ गते दिएको निर्देशन तथा चैत १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय (बुँदा नं. ४२) अनुसार यो प्रक्रिया अघि बढाइएको हो ।

मन्त्रालयले अनलाइन सट्टेबाजी नियन्त्रणका लागि ‘२४ घण्टाभित्र बन्द गर्ने’ नीति लागू गरेको जनाएको छ । सोही नीति अनुसार पछिल्लो एक सातामा मात्रै ५० भन्दा बढी उजुरी तथा गुनासो प्राप्त भएको र ती सबैलाई तत्काल सम्बोधन गर्दै सम्बन्धित लिंकहरू बन्द गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालको कानुनअनुसार सट्टेबाजी पूर्ण रूपमा अवैध मानिन्छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

त्यस्तै विज्ञापन ऐन, २०६६ ले सट्टेबाजीसम्बन्धी कुनै पनि प्रकारको प्रचारप्रसार वा विज्ञापन गर्न कडा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले अवैध सट्टेबाजीका कारण सामाजिक विकृति र आर्थिक जोखिम बढिरहेको भन्दै यस्ता गतिविधिबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयले यस्ता अवैध एप तथा वेबसाइटहरू पहिचान गरी निरन्तर रूपमा बन्द गर्ने कार्य जारी रहने जनाएको छ ।