सशक्त टिमसहित ज्योत्सना समूह मैदानमा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनलाई लक्षित गर्दै एशोसिएट्सतर्फ उपाध्यक्ष पदका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आगामी निर्वाचनका लागि प्रस्तावित वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालको समूहबाट एशोसिएट्सतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ नेतृत्वको समूहले उम्मेदवारी दिएको हो ।

हनुमान जयन्तीको अवसर पारेर बिहीबार महासङ्घको केन्द्रीय कार्यालय टेकुमा पुगेर श्रेष्ठ नेतृत्वको टोलीले उपाध्यक्षसहित १६ जना सदस्यहरूको संयुक्त प्यानल दर्ता गराएको थियो । एशोसिएट्सतर्फ कुल १९ सदस्य पदका लागि बाँकी ३ जना सदस्यले भने आज उम्मेदवारी दर्ता गराएका छन् ।

श्रेष्ठको समूहबाट सदस्य पदका लागि अविनाश बोहरा, अम्बिका शर्मा लामिछाने, वटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्धु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिम्सिना, शोभा ज्ञवाली, सन्दीप अग्रवाल (माखरिया), शैलेन्द्र गुरागाईं, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकाल (काभ्रे) ले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उपाध्यक्षका प्रत्याशी ज्योत्सना श्रेष्ठले आफ्नो समूह सशक्त र समावेशी रहेको दाबी गरिन् । उनले विभिन्न क्षेत्रका उद्योगी व्यवसायीलाई समेटेर टिम निर्माण गरिएको उल्लेख गर्दै सम्पूर्ण टिमको जीत सुनिश्चित रहेको विश्वास व्यक्त गरिन् ।