काठमाडौं, चैत २३ । नेपाल चेम्बर अफ कमर्स ले गैर आवासीय नेपाली संघ का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कान्तिपथस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल ले नेपालको समग्र विकास, व्यापार प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय पहिचान सुदृढ बनाउनु आजको प्रमुख आवश्यकता भएको स्पष्ट पार्नुभयो। उहाँले नेपाल प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र मानवीय सम्भावनाले सम्पन्न भए पनि तिनको प्रभावकारी उपयोग अझै हुन नसकेको उल्लेख गर्दै रणनीतिक ढंगले स्रोत परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, नेपाल चेम्बर र एनआरएनएबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।
अध्यक्ष अग्रवालले “मेड इन नेपाल” लाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न स्थानीय उत्पादनको प्रवर्द्धन, निर्यात वृद्धि, पर्यटन विकास तथा वैदेशिक लगानी आकर्षण अनिवार्य रहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यस्तै, एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा ले विदेशमा रहेका नेपालीहरूले नेपालको उत्पादन, संस्कृति र पहिचानलाई विश्वसामु पु¥याउन महत्वपूर्ण सेतुको भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले नेपालमा लगानीमैत्री वातावरण निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोडिराख्न एनआरएनएले अझ प्रभावकारी भूमिका खेल्ने धारणा राख्नुभयो।
कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल ले चेम्बर र एनआरएनएबीच आपसी समझदारी र सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिँदै नेपालमा लगानी विस्तार गर्न आग्रह गर्नुभयो। त्यसैगरी वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा ले स्थायी सरकार गठनसँगै राजनीतिक स्थायित्वको आभास मिलेको उल्लेख गर्दै निजी क्षेत्रको विकासले अब गति लिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले नेपालको आर्थिक समृद्धिका लागि सामूहिक पहल आवश्यक रहेको उल्लेख गर्दै उपलब्ध अवसरहरूको अधिकतम उपयोग गर्दै समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।