काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ नेतृत्वको समूहले सशक्त र समावेशी टिमसहित उम्मेदवारी घोषणा गरेसँगै चुनावी माहोल तातिएको छ। नयाँ विधानअनुसार उपाध्यक्षसहित १७ सदस्यीय टिम सार्वजनिक गरिएको यस समूहलाई महासंघभित्र बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
उक्त समूहमा वरिष्ठ उपाध्यक्षका लागि हेमराज ढकाल तथा महिलातर्फ उपाध्यक्षमा कमला श्रेष्ठ प्रस्तावित हुनुहुन्छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल को समेत समर्थन रहेको यस टिमले कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, सूचना प्रविधि, घरजग्गा, जलविद्युत लगायतका विविध क्षेत्रलाई समेट्दै सन्तुलित र प्रतिनिधिमूलक संरचना निर्माण गरेको जनाएको छ।
यसै समूहभित्र सदस्य पदमा उम्मेदवारी दिनुभएको पशुपतिदेव पाण्डे विशेष चर्चामा रहनुभएको छ। नेपाल तयारी पोशाक संघ का अध्यक्षसमेत रहनुभएका पाण्डे युवा, अनुभवी र स्पष्ट वक्ताका रूपमा निजी क्षेत्रमा परिचित हुनुहुन्छ। उद्योग व्यवसायका व्यावहारिक समस्या, नीतिगत जटिलता तथा बजार विस्तारका विषयमा स्पष्ट धारणा राख्ने उहाँ महासंघभित्र सबैको साझा व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।
पाण्डेको उम्मेदवारीलाई केवल व्यक्तिगत प्रतिस्पर्धा नभई उत्पादनमुखी उद्योगको आवाज महासंघमा मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ। विशेषगरी निर्यात प्रवर्द्धन, स्वदेशी उत्पादनको संरक्षण तथा उद्योगमैत्री नीतिका लागि उहाँले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले आफ्नो टिम सबै क्षेत्रलाई समेट्दै सशक्त र जुझारु व्यवसायीहरूको सहभागितामा निर्माण गरिएको बताउनुभएको छ। “हामीले समावेशी र सन्तुलित टिम बनाएका छौं, जसले सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व गर्छ। हाम्रो टिमको जीत सुनिश्चित छ,” उहाँले भन्नुभयो।
विविध क्षेत्रका अनुभवी र ऊर्जाशील व्यक्तित्वहरूको सहभागितासहित अघि बढेको यस समूहभित्र पशुपतिदेव पाण्डेजस्तो प्रभावशाली र स्पष्ट नेतृत्वको उपस्थिति स्वयंमा ठूलो शक्ति मानिएको छ। त्यसैले पनि नरेशलाल श्रेष्ठ समूहलाई यसपटकको निर्वाचनमा बलियो दाबेदारका रूपमा विश्लेषण गर्न थालिएको छ।