काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ले अर्थोडक्स इस्टर पर्वको अवसरमा युक्रेनसँग ३२ घण्टे युद्धविराम घोषणा गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले युद्ध रोक्न राखेको प्रस्तावलाई पछ्याउँदै पुटिनले यो कदम चालेका हुन्। रुसी सेनालाई शनिबार दिउँसो ४ बजेदेखि आइतबार रातीसम्म सबै मोर्चामा सैन्य कारबाही रोक्न निर्देशन दिइएको छ।
क्रेमलिनद्वारा जारी विज्ञप्तिमा सो अवधिमा आक्रमण रोकिने उल्लेख गरिएको छ। यद्यपि विपक्षी पक्षबाट हुन सक्ने कुनै पनि उत्तेजना वा आक्रामक गतिविधिको जवाफ दिन सेना तयार रहने जनाइएको छ। रुसले युक्रेनी पक्षले पनि युद्धविरामको पालना गर्ने विश्वास व्यक्त गरेको छ।
राष्ट्रपति जेलेन्स्कीले अमेरिकी मध्यस्थकर्तामार्फत इस्टरमा युद्धविरामको प्रस्ताव अघि सारेका थिए। उनले यसलाई सर्वसाधारणलाई त्रासमुक्त वातावरणमा चाडपर्व मनाउने अवसरका रूपमा लिइएको बताएका छन्।
रुस-युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहँदा अमेरिकाले दुवै पक्षबीच मध्यस्थताको प्रयास जारी राखेको छ। तर विगतमा भएका युद्धविरामका प्रयासहरू प्रभावकारी हुन सकेका थिएनन्। गत वर्षको इस्टरमा पनि पुटिनले ३० घण्टे युद्धविराम घोषणा गरेका थिए, तर दुवै पक्षले एकअर्कामाथि उल्लंघनको आरोप लगाएका थिए।
हाल अमेरिकाको ध्यान मध्यपूर्वतर्फ मोडिएकाले युक्रेन संकट समाधानका पहल केही ओझेलमा परेका छन्।
यसैबीच, विवादको मुख्य विषय रुसले कब्जा गरेको युक्रेनी भूभाग बनेको छ। रुसले अन्तर्राष्ट्रिय कानुन विपरित युक्रेनको करिब २० प्रतिशत भूभाग—क्रिमिया, लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिजिया—कब्जा गरेको छ। रुसले ती क्षेत्रहरू पूर्ण रूपमा नियन्त्रणमा नभए पनि युक्रेनले सबै भूमि त्याग्नुपर्ने अडान राख्दै आएको छ, जसका कारण शान्ति वार्ता निष्कर्षमा पुग्न सकेको छैन।
