आगलागी सचेतनाले जोखिम घटाउँदै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा देशभर सात हजार ६४८ वटा विपद्का घटना भएका छन्, जसमा आगलागी र डढेलोसँग सम्बन्धित घटना सबैभन्दा बढी रहेका छन् ।

प्राधिकरणका अनुसार कुल विपद्का घटनामध्ये आगलागीको संख्या उच्च देखिनुले सरकारी निकायले थप सक्रियता र सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ । आगलागी तथा डढेलो न्यूनीकरणका लागि विशेष सतर्कता अपनाउनुपर्ने तथ्याङ्कले स्पष्ट पारेको छ ।

गत वैशाख १ गतेदेखि चैत २७ गतेसम्म देशभर तीन हजार ७२० वटा आगलागीका घटना भएका छन् । ती घटनामा परी एक सय पाँच जनाको ज्यान गएको छ भने पाँच सय ७१ जना घाइते भएका छन् । साथै चार हजार २६० परिवार प्रभावित भएका छन् ।

उक्त अवधिमा तीन सय २८ वटा डढेलोका घटना भएका छन् । डढेलोका कारण दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ती घटनाबाट ५८ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार आगलागीका घटना बढ्नुमा सावधानीको कमी, जनचेतनाको अभाव तथा सुक्खा मौसममा वन तथा सुकेको ज्वलनशील सामग्रीमा आगो लगाउने प्रवृत्ति मुख्य कारण हुन् ।

आगलागीबाट जोगिन ज्वलनशील पदार्थ सुरक्षित स्थानमा राख्न, आगो प्रयोग गर्दा विशेष ध्यान दिन, तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

त्यस्तै, चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म मात्रै देशभर १९ वटा विपद्का घटना भएका छन्, जसमा १६ वटा आगलागीका घटना रहेका छन् । सुक्खा मौसममा आगलागीको जोखिम उच्च रहने भएकाले सतर्कता अपनाउन प्राधिकरणले पुनः अनुरोध गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले पनि डढेलो तथा आगलागी नियन्त्रणका लागि सम्बन्धित निकायलाई सक्रिय रूपमा परिचालन गर्दै आएको जनाएको छ ।