काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ।
कार्यवाहक मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत दुई वटा रूटमा सञ्चालन हुने बताएकी छन्।
साझा यातायातको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र अर्को रूट एयरपोर्टदेखि थानकोटसम्म बस चल्नेछन्।
यसरी चल्ने बस प्रत्येक २० मिनेटमा उपलब्ध हुने उनले बताएकी छन्।
रात्रिकालीन विद्युतीय बस सेवा सुरु हुँदैछ, साझा बससँगको सहकार्यमा।

बसमा सुरक्षाका लागि एक जना नगर प्रहरीको उपस्थिति राखिने महानगरपालिकाले जनाएको छ।
बस सञ्चालनको प्रारम्भमा ७ वटा बसबाट सेवा सुरू हुनेछ। हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सिसिटिभी क्यामराकबाट निगरानी हुनेछ।
यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले कसैले कुनै सामान छुटे प्राप्त गर्न सकिनेछ। कसैले दुरव्यवहारको प्रयास गर्छ भने तत्काल नियन्त्रणमा लिन सकिनेछ।
यो बस सेवा ललितपुर महानगर, चन्द्रागिरि नगर र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालन भएको हो।
