काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन मूल्यमा आएको तीव्र वृद्धिले विश्व अर्थतन्त्रमा असर परेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । वासिङ्टनमा आयोजित आईएमएफ र विश्व बैंकको वसन्तकालीन बैठकका क्रममा सार्वजनिक प्रतिवेदनले विश्व अर्थतन्त्र प्रतिकूल दिशातर्फ अघि बढिरहेको चेतावनी दिएको हो ।
आईएमएफले मध्यपूर्व संकटका आधारमा तीनवटा सम्भावित आर्थिक परिदृश्य प्रस्तुत गरेको छ । सबैभन्दा खराब अवस्थामा विश्व अर्थतन्त्र मन्दीको नजिक पुग्न सक्ने देखाइएको छ । यस्तो अवस्थामा सन् २०२६ मा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११० डलर र २०२७ मा १२५ डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यसले विश्व आर्थिक वृद्धि दर २.० प्रतिशतमा झर्न सक्ने प्रक्षेपण गरिएको छ, जुन सन् १९८० यताकै न्यूनमध्ये एक हुनेछ ।
आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभर गोरिन्चासका अनुसार ऊर्जा संकट लम्बिएमा विश्वव्यापी मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि पुग्न सक्ने जोखिम छ । यस्तो अवस्थामा केन्द्रीय बैंकहरूले ब्याजदर बढाएर कडा मौद्रिक नीति अपनाउनुपर्ने हुन सक्छ, जसले आर्थिक गतिविधि थप सुस्त बनाउन सक्छ ।
प्रमुख अर्थतन्त्रहरूको अवस्थाबारे पनि आईएमएफले फरक–फरक चित्र प्रस्तुत गरेको छ । संयुक्त राज्य अमेरिकामा कर कटौती र एआईमा लगानीका कारण आर्थिक वृद्धि तुलनात्मक रूपमा स्थिर रहने अनुमान गरिएको छ । युरोप भने ऊर्जा संकटका कारण थप दबाबमा पर्ने देखिएको छ ।
चीनको वृद्धि दर सन् २०२६ मा ४.४ प्रतिशत रहने र २०२७ मा ४.० प्रतिशतमा झर्ने अनुमान गरिएको छ भने जापानको अर्थतन्त्र सुस्त गतिमा मात्र अघि बढ्ने देखिएको छ । भारत भने ६.५ प्रतिशतको बलियो वृद्धि दरसहित प्रमुख ‘ब्राइट स्पट’ का रूपमा देखिएको छ ।
मध्यपूर्व र मध्य एसियाली क्षेत्रको आर्थिक वृद्धि पनि घट्ने अनुमान गरिएको छ । विशेषगरी तेलमा निर्भर अर्थतन्त्रहरू बढी प्रभावित हुने आईएमएफको निष्कर्ष छ ।
आईएमएफले सरकारहरूलाई इन्धन मूल्य वृद्धिबाट जनतालाई राहत दिन सकिने भए पनि अनुदान वा कर छुट जस्ता उपाय लक्षित र अस्थायी रूपमा मात्र अपनाउन सुझाव दिएको छ । साथै, मध्यपूर्व द्वन्द्व नभएको भए विश्व आर्थिक वृद्धि अझ सकारात्मक हुने अनुमान पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समग्रमा, आईएमएफले विश्व अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिए पनि दीर्घकालीन सन्तुलनका लागि नीति सुधार र ऊर्जा स्थायित्व आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
