भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएको प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले अडान नछोड्ने संकेत गरेको छ । नेपाली काँग्रेसले ल्याएको मध्यमार्गी प्रस्तावमा लचिलो देखिएको माओवादी आज विपक्षी दलको बैठकपछि पुरानै अडानमा फर्किएको हो ।
दलालसँग साँठगाँठ गरेर अध्यागमनका कर्मचारीले भिजिट भिसामा करोडौँ कुम्ल्याएको काण्ड छानबिनका लागि समिति गठनको सुनिस्चितता नभएसम्म संसदको अवरोध कायमै राख्ने विपक्षीहरुले निर्णय गरेका छन् । यसअघि काँग्रेसले राखेको मध्यमार्गी प्रस्तावमा माओवादीसहित विपक्षीहरु सहमत भएको भनिएको थियो । सोअनुसार विपक्षीले गृहमन्त्रीको राजीनामाको अडान छोड्ने, सत्तापक्ष छानविन समिति बनाउन राजी हुने अनि सदन खुलाउने मौखिक समझदारी थियो ।
तर, आज काँग्रेस नेताहरुले गृहमन्त्री लेखकमाथि छानविन गर्न नहुने अड्को थापेपछि परिस्थिति भाँडिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समिति गठन गर्न अनिच्छुक रहेकाले काँग्रेस पनि भड्किएको विपक्षीहरुको बुझाइ छ ।
माओवादी सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुको विकल्प नभएको बताउनुभयो ।