अमेरिकाको गोलीद्धारा इरानी जहाज कब्जामा

अमेरिकाले इरानको एक मालवाहक (कार्गो) जहाज कब्जा गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार होर्मुज स्ट्रेट पार गर्ने प्रयास गरिरहेका बेला टोस्का नामक जहाज नियन्त्रणमा लिइएको हो।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाज हाल हाम्रो नियन्त्रणमा छ। पूर्ण रूपमा नियन्त्रणमा लिएर जहाजभित्र के छ भनेर अनुसन्धान गरिरहेका छौँ।’

ट्रम्पले अगाडि लेखेका छन्, ‘आज इरानी झन्डा बोकेको जहाज टोस्काले नौसेना नाकाबन्दी तोड्ने प्रयास गरेको थियो तर असफल भयो। यो जहाज ९०० फिट लामो र लगभग विमानवाहक जत्तिकै भारी छ।’

रोक्न चेतावनी दिँदा नमानेपछि अमेरिकी नौसेनाले आक्रमण गरेर जहाज नियन्त्रणमा लिएको दाबी ट्रम्पले गरेका छन्।

यसैबिच अमेरिकी केन्द्रीय कमान्डले भिडिओ जारी गरेको छ। जसमा एउटा नौसेना जहाजले कार्गो जहाजलाई रोकेको र गोली हानेको देखिन्छ।

इरानको सैन्य मुख्यालयले भने अमेरिकाले युद्धविराम उल्लंघन गर्दै ओमानको खाडीमा इरानको व्यापारिक जहाजमा गोली हानेको बताएको छ।

तस्निम मिडियाका अनुसार, जहाज चीनबाट इरानतर्फ आइरहेको थियो। इरानले अमेरिकाको कदमलाई समुद्री डाँकाको संज्ञा दिँदै चाँडै जवाफ दिइने चेतावनी दिएको छ।

यसअघि आइतबार मात्र ट्रम्पले इरानसँग फेरि वार्ता गर्न अमेरिकी प्रतिनिधि पाकिस्तान प्रस्थान गरेको बताएका थिए।