काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरू (आउटसोर्स सेवाहरू, डाक्टर परामर्श तथा एम्बुलेन्स शुल्क बाहेक) मा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउनेछन्।
त्यस्तै, अपरेसन सेवामा ५ प्रतिशत छुट र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सुविधा प्राप्त गर्न सकिनेछ।
यस सुविधाको लाभ लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
बैंकले यो सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष आर्थिक राहत दिने विश्वास व्यक्त गरेको छ। साथै, डिजिटल भुक्तानी प्रवर्द्धन गर्दै नगदरहित कारोबार प्रणालीलाई थप सुदृढ बनाउन यसले योगदान पुर्याउने बैंकको अपेक्षा रहेको छ।
