बिदामा स्वास्थ्य सेवा निरन्तरताको पहल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालको ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन्।

उनले पछिल्लो समय बिदाका दिन ओपिडी सेवा बन्द हुँदा बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको उल्लेख गर्दै यसले स्वास्थ्य सेवामा पहुँच घटाएको बताएका छन्। साथै, सेवा बन्द हुँदा बिरामीहरू निजी अस्पतालतर्फ जान बाध्य हुने र त्यसले आर्थिक बोझ समेत बढ्ने उनको भनाइ छ।

महामन्त्री पौडेलले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा बिदाका दिन पनि सेवा निरन्तर राख्ने पहल गरिएको स्मरण गराएका छन्। त्यस क्रममा अतिरिक्त समय काम गर्ने चिकित्सकलाई प्रोत्साहन दिने, ओपिडी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने तथा सेवा समय विस्तार गर्ने जस्ता सुधारात्मक कदम सुरु गरिएको उनले बताएका छन्।

त्यस्तै, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने र अस्पतालहरूमा जनशक्ति अभाव पूर्ति गर्न ठूलो संख्यामा नयाँ कर्मचारी थप्ने प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिए।

पौडेलले सरकारी अस्पतालमार्फत सहज र गुणस्तरीय सेवा विस्तार गर्दै निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन्। उनका अनुसार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवा घटाउने होइन, बरु विस्तार गर्दै नागरिकमैत्री बनाउनु पर्ने आवश्यकता छ।

उनले सरकारले स्वास्थ्य सेवालाई निरन्तर, प्रभावकारी र सर्वसुलभ बनाउन दीर्घकालीन नीति आवश्यक रहेको पनि जोड दिएका छन्।