नेपाल–चीन सहकार्य थप सुदृढ

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी देशविरुद्ध प्रयोग हुन नदिने स्पष्ट नीति रहेको बताएका छन्। साथै उनले चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उल्लेख गरेका छन्।

चिनियाँ दूतावासद्वारा आयोजित एक सांस्कृतिक कार्यक्रममा बोल्दै उनले नेपालले निरन्तर सहयोगका लागि चीनप्रति आभार व्यक्त गरे। उनका अनुसार चीनको सहयोगले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

अर्थमन्त्री वाग्लेले नेपाल र चीनबीच लामो समयदेखिको सांस्कृतिक तथा भौगोलिक सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा यो सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे। उनले चीनको तीव्र विकास र आर्थिक प्रगतिबाट नेपालले महत्वपूर्ण सिकाइ लिन सक्ने पनि बताए।

उनले चीनको सहयोगमा नेपालमा सडक, अस्पताल तथा शैक्षिक संस्थाहरू जस्ता पूर्वाधार विकासका परियोजनाहरू अघि बढिरहेको जानकारी दिए। साथै बैंकिङ, कृषि, पर्यटन र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भइरहेको पनि उनले बताए।

वाग्लेले वर्तमान सरकार सुशासन, पारदर्शिता र आर्थिक समृद्धिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै विश्वसनीय अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा देशको समग्र विकासलाई अघि बढाउने लक्ष्य रहेको बताए।