काठमाडौं । नेपाल बीमा प्राधिकरण को आयोजनामा कुपण्डोलस्थित केन्द्रीय कार्यालय, ललितपुरमा बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९ लाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यले सरोकारवालाहरूबाट सुझाव संकलन गर्न उक्त कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी ले समग्र बीमा क्षेत्रमा जोखिम पहिचान तथा न्यूनीकरणका लागि आन्तरिक लेखापरीक्षण प्रणालीलाई थप व्यवस्थित, व्यावसायिक र परिस्कृत बनाउनु आवश्यक रहेको बताए। उनले निर्देशिका परिमार्जनका क्रममा समावेश गर्नुपर्ने विषय तथा सुधार गर्नुपर्ने पक्षबारे सहभागीहरूलाई सुझाव दिन आग्रह गरे।
त्यसैगरी, प्राधिकरणका सहायक निर्देशक गोकुल राज दाहाल ले प्रस्तावित संशोधित निर्देशिकाको मस्यौदामा समेटिएका मुख्य विषयवस्तुहरूबारे प्रस्तुती गरेका थिए।
अन्तरक्रियामा सहभागीहरूले रिस्क रेटिङ, शाखा लेखापरीक्षणको कभरेज, नमूना आकार (स्याम्पल साइज), आन्तरिक लेखापरीक्षण कार्यसम्पादन तथा प्रतिवेदन आवश्यकताजस्ता विषयमा महत्वपूर्ण सुझावहरू दिएका थिए।
प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जन ले प्राप्त सुझावहरूलाई समेटेर निर्देशिकालाई अन्तिम रूप दिने जानकारी दिए।
कार्यक्रममा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी र शाम्भ राज लामिछाने सहित बीमा कम्पनीका आन्तरिक लेखापरीक्षण शाखाका प्रमुख तथा लेखापरीक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
