काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ६९२ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा ७ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरीले दिएको विवरणअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९१ जना, यान्त्रिक अवस्था ठीक नभएका सवारी सडकमा सञ्चालन गर्ने ६३ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने २२४ जना र तीव्र गतिमा सवारी चलाउने १३२ जनालाई कारबाही गरिएको छ।
यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने २३७ जना, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ जना र तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने ४० जना पनि कारबाहीमा परेका छन्।
अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार ७८० जनालाई समेत ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।
ट्राफिक प्रहरीले उपत्यकामा सवारी अनुशासन कायम गर्न नियमित निगरानी र कडाइलाई निरन्तरता दिइने जनाएको छ।
