नेपाल आज परिवर्तनको एक निर्णायक मोडमा उभिएको छ । प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र विशाल युवा जनशक्तिले भरिपूर्ण यस देशले विकासका अनगिन्ती सम्भावना बोकेको छ । तर, यिनै सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न नसक्दा नेपाल अझै पनि विकासशील राष्ट्रको श्रेणीमा सीमित छ । यस सन्दर्भमा ‘युवामा उद्यमशीलता’ केवल आर्थिक अवधारणा मात्र होइन, यो राष्ट्र निर्माणको मूल आधार बन्न सक्ने शक्ति हो । जब युवा वर्गले आफ्नो क्षमता, सिर्जनशीलता र साहसलाई उद्यमशीलतामा रूपान्तरण गर्छ, तब मात्र देशले दिगो विकासको मार्ग समात्न सक्छ ।
नेपालमा लामो समयदेखि रोजगारीको परिभाषा सीमित थियो– सरकारी जागिर वा विदेश जाने अवसर । तर, समयसँगै यो सोचमा परिवर्तन आउन थालेको छ । आजका युवा केवल जागिर खोज्ने होइन, आफैँ अवसर सिर्जना गर्ने सोचमा अघि बढिरहेका छन् । यही सोचलाई बलियो बनाउन नीतिगत समर्थन, वित्तीय पहुँच, सिप विकास र बजार विस्तार अत्यन्त आवश्यक छ । यदि राज्यले यी पक्षहरूमा प्रभावकारी काम गर्न सकेमा, युवाको ऊर्जा देशभित्रै उपयोग गर्न सकिन्छ र वैदेशिक पलायनलाई कम गर्न सकिन्छ ।
नेपालको जनसांख्यिक संरचनाले युवालाई सबैभन्दा ठुलो पुँजीका रूपमा प्रस्तुत गरेको छ । करिब ४० प्रतिशतभन्दा बढी जनसंख्या युवा वर्गमा पर्छ, जुन कुनै पनि देशका लागि ‘डेमोग्राफिक डिभिडेन्ड’ हो । तर, यही जनशक्ति बेरोजगारी, निराशा र अवसरको अभावका कारण विदेश पलायन हुन्छ भने यो पुँजी चुनौतीमा रूपान्तरण हुन्छ । आज लाखँैं नेपाली युवाहरू खाडी मुलुक, मलेसिया, कोरियालगायत देशहरूमा श्रम गरिरहेका छन् । उनीहरूले पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्रलाई चलायमान बनाएको भए पनि यो दीर्घकालीन समाधान होइन । दीर्घकालीन समृद्धिका लागि उत्पादन, नवप्रवर्तन र उद्यमशीलता आवश्यक हुन्छ ।
उद्यमशीलता भन्नाले केवल व्यवसाय सञ्चालन गर्नु मात्र होइन, यो समस्यालाई अवसरमा रूपान्तरण गर्ने क्षमता हो । नेपालजस्तो विविधतायुक्त देशमा उद्यमशीलताको सम्भावना अपार छ । कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्तकला, सेवा क्षेत्र हरेक क्षेत्रमा नयाँ सोच र प्रविधिको प्रयोगबाट मूल्य सिर्जना गर्न सकिन्छ । उदाहरणका लागि, परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर उच्च उत्पादन र निर्यातमुखी व्यवसाय विकास गर्न सकिन्छ । त्यस्तै, नेपालको प्राकृतिक सौन्दर्यलाई नवीन पर्यटन अवधारणासँग जोडेर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सकिन्छ ।
यद्यपि, सम्भावनाहरू धेरै छन्, नेपालमा उद्यमशीलताको वर्तमान अवस्था अझै चुनौतीपूर्ण छ । साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भए पनि, तिनीहरूले पर्याप्त सहयोग पाएका छैनन् । उद्योग दर्ता प्रक्रिया, कर प्रणाली, अनुमति प्रक्रिया तथा नियामक निकायहरूसँगको समन्वय अझै पनि जटिल छ । यस्तो अवस्थाले नयाँ उद्यमीहरूलाई निरुत्साहित बनाउँछ ।
नेपाल सरकारले उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न नीति तथा कार्यक्रम ल्याएको छ । स्टार्टअप नीति, सहुलियत ऋण योजना, युवा स्वरोजगार कार्यक्रमलगायतका पहलहरू सकारात्मक भए पनि कार्यान्वयन पक्ष कमजोर देखिन्छ । नीति कागजमा राम्रो देखिए पनि व्यवहारमा पहुँच सीमित, प्रक्रिया जटिल र पारदर्शिता कमजोर हुँदा अपेक्षित परिणाम हासिल हुन सकेको छैन । त्यसैले अबको आवश्यकता भनेको नीतिको गुणस्तरभन्दा पनि यसको प्रभावकारी कार्यान्वयन हो ।
वित्तीय पहुँच उद्यमशीलताको सबैभन्दा महत्वपूर्ण आधार हो । नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले व्यावसायिक ऋण दिने व्यवस्था भए पनि युवा उद्यमीहरूका लागि यो सहज छैन । धितोको अभाव, उच्च ब्याजदर तथा जटिल प्रक्रिया प्रमुख अवरोधहरू हुन् । धेरै युवासँग राम्रो व्यावसायिक विचार भए पनि पुँजी अभावका कारण उनीहरू आफ्नो योजना कार्यान्वयन गर्न सक्दैनन् । यस समस्याको समाधानका लागि विनाधितो ऋण, भेन्चर क्यापिटल, एन्जेल इन्भेस्टमेन्ट तथा सरकारी ग्यारेन्टी कोषजस्ता प्रणालीहरू विकास गर्न आवश्यक छ । विशेषगरी महिला र युवा उद्यमीहरूका लागि लक्षित वित्तीय कार्यक्रमहरू अझ प्रभावकारी बनाउनुपर्छ ।
शिक्षा प्रणालीले पनि उद्यमशीलताको विकासमा महŒवपूर्ण भूमिका खेल्छ । नेपालमा अझै पनि शिक्षा प्रणाली ‘रोजगारीमुखी’ छ, ‘उद्यमशीलतामुखी’ होइन । विद्यार्थीलाई सिर्जनशील सोच, जोखिम व्यवस्थापन, नेतृत्व क्षमता र व्यवसाय सञ्चालनका व्यावहारिक सिप सिकाइँदैन । यदि विद्यालय र विश्वविद्यालय स्तरमै उद्यमशीलता शिक्षा समावेश गर्न सकियो भने नयाँ पुस्ता आत्मनिर्भर बन्न प्रेरित हुनेछ । उद्योग र शैक्षिक संस्थाबिच सहकार्य बढाएर इन्टर्नसिप, तालिम र अनुसन्धानलाई जोड दिनु अत्यन्त आवश्यक छ ।
डिजिटल प्रविधिले उद्यमशीलताको स्वरूप नै परिवर्तन गरिदिएको छ । नेपालमा पनि इन्टरनेट पहुँच विस्तारसँगै इ–कमर्स, डिजिटल मार्केटिङ, अनलाइन सेवा, फिनटेकजस्ता क्षेत्रहरू तीव्र रूपमा विकास हुँदै छन् । सानो लगानीबाट पनि ठुलो बजारमा पहुँच सम्भव भएको छ । ग्रामीण क्षेत्रमा बसेर पनि अन्तर्राष्ट्रिय ग्राहकसँग व्यापार गर्न सकिने अवस्था सिर्जना भएको छ । यसले विशेषगरी युवाहरूलाई नयाँ अवसर प्रदान गरेको छ । तर, डिजिटल विभाजन, प्रविधिको अभाव र सिपको कमीले अझै धेरै सम्भावना प्रयोग हुन बाँकी छन् ।
महिला उद्यमशीलता नेपालको आर्थिक रूपान्तरणका लागि अत्यन्त महŒवपूर्ण पक्ष हो । पछिल्लो समय महिलाहरू व्यवसाय क्षेत्रमा सक्रिय हुँदै गए पनि उनीहरूले अझै धेरै सामाजिक र आर्थिक अवरोधहरूको सामना गर्नुपरेको छ । वित्तीय पहुँचमा असमानता, पारिवारिक दायित्व तथा सामाजिक धारणा प्रमुख चुनौतीहरू हुन् । यदि महिलालाई समान अवसर, तालिम र वित्तीय सहयोग प्रदान गर्न सकियो भने देशको आर्थिक वृद्धि दोब्बर हुन सक्छ । महिला उद्यमशीलताको सशक्तीकरण भनेको केवल लैंगिक समानता मात्र होइन, यो समावेशी विकासको आधार हो ।
पर्यटन क्षेत्र पनि उद्यमशीलताका लागि महŒवपूर्ण अवसर हो । हिमाल, संस्कृति, सम्पदा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल विश्वकै आकर्षक गन्तव्य हो । तर, पर्यटनको पूर्ण उपयोग हुन सकेको छैन । युवा उद्यमीहरूले नयाँ अवधारणाहरू, जस्तै : एड्भेन्चर पर्यटन, होमस्टे, डिजिटल ट्राभल प्लेटफर्ममार्फत यो क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्छन् । स्थानीय समुदायलाई समेटेर गरिने पर्यटन विकासले रोजगारी सिर्जना मात्र होइन, सामाजिक विकास पनि सुनिश्चित गर्छ ।
शोभा ज्ञवाली, निवर्तमान अध्यक्ष, महिला उद्यमी महासंघ नेपाल