एनएमबिको अन्तर्राष्ट्रिय सफलता

काठमाडौ । एनएमबि बैंक ले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत जर्मनीस्थित कमर्ज बैंक एजी बाट प्रतिष्ठित ‘एसटीपी (स्ट्रेट थ्रु प्रोसेसिङ) अवार्ड २०२५’ प्राप्त गरेको हो।

यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मानका रूपमा चिनिन्छ। पूर्ण रूपमा स्वचालित र सहज तरिकाले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सीमित बैंकहरूलाई मात्र प्रदान गरिने यस अवार्डले एनएमबि बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा छिटो र भरपर्दो सेवा दिने प्रतिबद्धतालाई उजागर गरेको छ।

यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे ले यो उपलब्धि ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङ सेवा सरल र सहज बनाउने निरन्तर प्रयासको परिणाम भएको बताए। उनले उच्च मापदण्ड कायम राख्दै सुरक्षित र द्रुत सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।

उक्त उपलब्धिले एनएमबि बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको बैंकले जनाएको छ।

हाल बैंकले देशभर १९८ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।