सालपाको सुधार यात्रा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा सालपा विकास बैंक को वित्तीय अवस्थामा सुधार देखिएको छ। बैंकको खुद नोक्सानी अघिल्लो वर्षको तुलनामा घट्दै सकारात्मक दिशातर्फ अघि बढेको छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा बैंक ३१ लाख ८९ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको नोक्सानी ३५ लाख ८४ हजार रुपैयाँ रहेको थियो। यसअनुसार बैंकले नोक्सानी कम गर्न सफल भएको देखिन्छ।

नोक्सानी घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ, जुन अघिल्लो वर्ष १ रुपैयाँ ३६ पैसा ऋणात्मक थियो।

बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशतले वृद्धि भई ५ करोड ५७ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम ५ करोड २२ लाख १५ हजार रुपैयाँ थियो। कुल सञ्चालन आम्दानी पनि ७.७० प्रतिशतले बढेर ६ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुगेको छ।

यद्यपि, चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ करोड ६५ लाख ९० हजार रुपैयाँ ऋणात्मक रहेको छ। सञ्चालन मुनाफा भने सुधारोन्मुख देखिएको छ, जसमा अघिल्लो वर्षको तुलनामा नोक्सानी घटेर ३१ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ।

इम्पेरमेन्ट चार्ज पनि उल्लेख्य रूपमा घटेको छ। गत वर्ष १ करोड ६६ लाख २८ हजार रुपैयाँ रहेको यस्तो चार्ज यस वर्ष घटेर ९७ लाख ९८ हजार रुपैयाँमा झरेको छ।

बैंकको चुक्ता पूँजी ४९.२५ प्रतिशतले वृद्धि भई ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ करोड ८७ लाख २७ हजार रुपैयाँ सञ्चित छ। खराब कर्जामा पनि सुधार देखिएको छ, जुन गत वर्ष ६.९२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब ४९ करोड ४३ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब १९ करोड ७५ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। समग्रमा सालपा विकास बैंकले आफ्नो वित्तीय अवस्था सुधार गर्दै स्थायित्वतर्फ कदम अघि बढाएको देखिएको छ।