ज्योतिमा नाफाको उछाल

काठमाडौँ । ज्योति विकास बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्म उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। बैंकको खुद नाफा १०५.३० प्रतिशतले बढ्दै दोब्बरभन्दा बढी वृद्धि भएको छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा बैंकले ६२ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंकको नाफा ३० करोड ६६ लाख ११ हजार रुपैयाँ रहेको थियो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा ईपीएस ९ रुपैयाँ ७९ पैसाले बढेर १९ रुपैयाँ ०९ पैसा पुगेको छ।

खुद ब्याज आम्दानी पनि सामान्य वृद्धि भएको छ। बैंकको यस्तो आम्दानी ०.७८ प्रतिशतले बढ्दै १ अर्ब ५९ करोड ६५ लाख ३३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम १ अर्ब ५८ करोड ४१ लाख ३९ हजार रुपैयाँ थियो।

सञ्चालन मुनाफामा भने ठूलो सुधार देखिएको छ। समीक्षा अवधिमा सञ्चालन मुनाफा १०५.२७ प्रतिशतले बढेर ८९ करोड ९० लाख २० हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४३ करोड ७९ लाख ६१ हजार रुपैयाँ थियो।

तर, वितरणयोग्य मुनाफा भने ४३ करोड ४८ लाख ४४ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकले जनाएको छ। इम्पेरमेन्ट चार्ज भने उल्लेख्य रूपमा घटेर ११ करोड ८४ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ५२ करोड १६ लाख १७ हजार रुपैयाँ थियो।

बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३ अर्ब २२ करोड ३१ लाख ४७ हजार रुपैयाँ सञ्चित छ। खराब कर्जा भने बढेर ७.८३ प्रतिशत पुगेको छ।

समीक्षा अवधिसम्म बैंकले ६४ अर्ब ४९ करोड ८ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४७ अर्ब ९८ करोड ८९ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। समग्रमा बैंकको नाफा र सञ्चालन प्रदर्शनमा उल्लेख्य सुधार देखिएको छ।