काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले नेपाल वायुसेवा निगम को रिक्त सञ्चालक सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा पदपूर्ति गर्ने उद्देश्यसहित सार्वजनिक सूचना जारी गरेको हो।
मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा (१) बमोजिम रिक्त रहेका तीन जना सञ्चालक सदस्य तथा उपदफा (७) बमोजिम आगामी ६ महिनाभित्र रिक्त हुने एक जना गरी जम्मा चार जना सञ्चालक सदस्य नियुक्त गर्न लागिएको हो।
यी पदहरूका लागि योग्य उम्मेदवारहरूलाई खुला प्रतिस्पर्धामार्फत छनोट गरिने मन्त्रालयले जनाएको छ। यसले निगमको व्यवस्थापनलाई थप सुदृढ, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
मन्त्रालयले इच्छुक व्यक्तिहरूलाई निर्धारित मापदण्डअनुसार आवेदन दिन आग्रह गर्दै प्रक्रिया पूर्ण रूपमा पारदर्शी र प्रतिस्पर्धात्मक हुने स्पष्ट पारेको छ।
