सुधारतर्फ अग्रसर इन्भेष्टमेण्ट मेगा बैंक

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ३ अर्ब १४ करोड ६७ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ६९ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५४ करोड ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको आम्दानीका प्रमुख सूचकहरूमा गिरावट देखिएको छ।

खुद ब्याज आम्दानी ७ दशमलव ०८ प्रतिशतले घटेर ९ अर्ब ५७ करोड ९५ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १० अर्ब ३१ करोड ४९ लाख २६ हजार रुपैयाँ रहेको थियो। यस्तै, खुद फि तथा कमिसन आम्दानी पनि १४ दशमलव ९८ प्रतिशतले घटेर १ अर्ब ६३ करोड ११ लाख ३५ हजार रुपैयाँमा झरेको छ।

बैंकको कुल सञ्चालन आम्दानी ४ दशमलव ६७ प्रतिशतले घटेर १२ अर्ब १९ करोड ४३ हजार रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानीमा आएको कमीको प्रभाव सञ्चालन मुनाफामा पनि परेको छ। समीक्षा अवधिमा सञ्चालन मुनाफा २७ दशमलव ०३ प्रतिशतले घटेर ४ अर्ब ५२ करोड ९८ लाख २२ हजार रुपैयाँमा सीमित भएको छ।

विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १० करोड ३० लाख ८५ हजार रुपैयाँ ऋणात्मक रहेको छ, जुन बैंकका लागि चुनौतीपूर्ण पक्ष मानिएको छ। यद्यपि, खराब कर्जा व्यवस्थापनमा भने सुधार देखिएको छ। बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको ४ दशमलव ९६ प्रतिशतबाट घटेर २ दशमलव २८ प्रतिशतमा झरेको छ।

नाफामा आएको गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४५ पैसाले घटेर १२ रुपैयाँ २९ पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७ दशमलव १४ गुणा रहेको छ।

हाल ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३७ अर्ब १३ करोड ६४ लाख ३२ हजार रुपैयाँ सञ्चित छ।

कारोबार विस्तारतर्फ बैंकले चैत मसान्तसम्म ५ खर्ब २६ अर्ब ४० करोड ८८ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गर्दै ३ खर्ब ९० अर्ब ८५ करोड ४९ लाख ५ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।