एसबिआई बैंकको वित्तीय मजबुती थप बलियो

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार देखाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा, आम्दानी तथा कर्जाको गुणस्तरमा सकारात्मक प्रगति भएको छ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ४६ करोड १७ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ४९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष चैत मसान्तसम्म बैंकको खुद नाफा १ अर्ब २० करोड ३२ लाख ६१ हजार रुपैयाँ रहेको थियो।

नाफा वृद्धिमा बैंकको आम्दानीतर्फको सुधार मुख्य कारक बनेको छ। खुद ब्याज आम्दानी ९ दशमलव ४६ प्रतिशतले बढेर ३ अर्ब ८६ करोड ९४ लाख १५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो आम्दानी ३ अर्ब ५३ करोड ५० लाख ३९ हजार रुपैयाँ थियो।

त्यसैगरी, गैर–ब्याज आम्दानी अर्थात् खुद फि तथा कमिसन आम्दानी २७ दशमलव ४२ प्रतिशतले वृद्धि भई १ अर्ब ५३ करोड ८३ लाख २३ हजार रुपैयाँ पुगेको छ, जसले बैंकको समग्र आम्दानीलाई थप मजबुत बनाएको छ।

बैंकको सम्पत्तिको गुणस्तरमा पनि उल्लेखनीय सुधार देखिएको छ। निष्क्रिय कर्जा १५३ आधार बिन्दुले घटेर २ दशमलव ५३ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ४ दशमलव ०६ प्रतिशत रहेको थियो। साथै, कोषको लागत ५ दशमलव ३५ प्रतिशतबाट घटेर ४ दशमलव ११ प्रतिशतमा सीमित भएको छ।

पूँजीगत आधारतर्फ बैंक अझै सुदृढ बनेको छ। पूँजी पर्याप्तता अनुपात १३२ आधार बिन्दुले बढेर १३ दशमलव ७६ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ५२ लाख ९१ हजार रुपैयाँ रहेको छ भने वार्षिक प्रतिशेयर लाभांश क्षमता १० रुपैयाँ ७५ पैसा कायम भएको छ।

नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेर १७ रुपैयाँ १९ पैसा पुगेको छ, जुन अघिल्लो वर्ष १४ रुपैयाँ १५ पैसा थियो। प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३ दशमलव ५५ गुणा रहेको छ।

हाल ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब २६ करोड ९२ लाख ३७ हजार रुपैयाँ सञ्चित छ।

कारोबार विस्तारतर्फ बैंकले चैत मसान्तसम्म २ खर्ब २० अर्ब २ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गर्दै १ खर्ब ४४ अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।