माछापुच्छ्रे बैंकको नाफामा बलियो छलाङ

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडले उल्लेखनीय वित्तीय प्रगति गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा, आम्दानी र सञ्चालन मुनाफामा सकारात्मक वृद्धि देखिएको छ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ रहेको थियो।

आम्दानीतर्फ पनि बैंकले सुधार देखाएको छ। खुद ब्याज आम्दानी ३ दशमलव ४७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड ८३ लाख ५० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो आम्दानी ४ अर्ब २५ करोड ७ लाख ३७ हजार रुपैयाँ थियो।

त्यसैगरी, कुल सञ्चालन आम्दानी ९ दशमलव ९३ प्रतिशतले बढेर ६ अर्ब ९ करोड ३० लाख २१ हजार रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि १६ दशमलव ६४ प्रतिशतले बढेर २ अर्ब ४० करोड १ लाख ९८ हजार रुपैयाँ पुगेको छ।

खुद फि तथा कमिसन आम्दानीमा उल्लेखनीय वृद्धि देखिएको छ। यो आम्दानी २८ दशमलव २३ प्रतिशतले बढेर १ अर्ब २१ करोड २८ लाख ५१ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ७१ करोड ५६ लाख ८४ हजार रुपैयाँबाट घटेर ६७ करोड ३२ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धिमा सहयोग पुर्‍याएको देखिन्छ।

वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ।

नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ १४ पैसाले बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३ दशमलव ७७ गुणा कायम भएको छ।

हाल १५ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड १६ लाख १७ हजार रुपैयाँ सञ्चित छ।

कारोबार विस्तारतर्फ बैंकले चैत मसान्तसम्म २ खर्ब १३ अर्ब ५६ करोड ३५ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गर्दै १ खर्ब ५९ अर्ब २१ करोड १२ लाख ३२ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।