काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म मिश्रित वित्तीय परिणाम सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा गिरावट देखिए पनि केही सूचकहरूमा सकारात्मक सुधार देखिएको छ।
समीक्षा अवधिमा बैंकले १४ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ४९ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकको नाफा १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ रहेको थियो।
आम्दानीतर्फ बैंकको प्रमुख सूचकमा दबाब देखिएको छ। खुद ब्याज आम्दानी २० दशमलव ७८ प्रतिशतले घटेर ६ अर्ब ३० करोड ८२ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो आम्दानी ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँ रहेको थियो। त्यस्तै, सञ्चालन मुनाफा पनि ४७ दशमलव ८६ प्रतिशतले घटेर ६७ करोड २९ लाख ६ हजार रुपैयाँमा झरेको छ।
यद्यपि, खुद फि तथा कमिसन आम्दानी भने ८ दशमलव ५३ प्रतिशतले बढेर १ अर्ब ५ करोड ७ लाख ६ हजार रुपैयाँ पुगेको छ, जसले गैर–ब्याज आम्दानीतर्फ केही राहत दिएको देखिन्छ।
समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५ करोड २ लाख रुपैयाँबाट घटेर २ अर्ब ९१ करोड ३६ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ।
लगानीकर्ताका लागि चुनौतीपूर्ण पक्ष वितरणयोग्य मुनाफा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड ८२ लाख १४ हजार रुपैयाँ ऋणात्मक रहेको छ, जसले लाभांश क्षमतामा ठूलो दबाब देखाएको छ।
नाफा घटेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) १६ पैसाले घटेर १ रुपैयाँ २५ पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ २६ दशमलव ३३ प्रतिशतले घटेर १७२ रुपैयाँ ९७ पैसा पुगेको छ।
हाल १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ५४ करोड ४१ लाख ४९ हजार रुपैयाँ सञ्चित छ।
कारोबार विस्तारतर्फ बैंकले चैत मसान्तसम्म ३ खर्ब ३४ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब १ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
सकारात्मक पक्षतर्फ बैंकको खराब कर्जा उल्लेख्य रूपमा घटेर १ दशमलव ९२ प्रतिशतबाट ० दशमलव ४९ प्रतिशतमा झरेको छ, जसले सम्पत्ति गुणस्तरमा सुधार देखाएको छ।
