काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा उल्लेखनीय वित्तीय सुधार गर्दै अधिकांश सूचकहरूमा सकारात्मक प्रदर्शन गरेको छ।
बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ५७.१९ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड ३९ लाख ७३ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८८ करोड ६८ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यद्यपि बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानीमा भने गिरावट देखिएको छ। समीक्षा अवधिमा यो आम्दानी ११.३४ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ३९ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ५ अर्ब ८१ करोड २३ लाख ८ हजार रुपैयाँ थियो।
तर, सञ्चालन मुनाफामा भने उल्लेखनीय सुधार देखिएको छ। बैंकको सञ्चालन मुनाफा ३४.२६ प्रतिशतले बढेर २ अर्ब १२ करोड ९ लाख २ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यो मुनाफा १ अर्ब ५७ करोड ९७ लाख ७२ हजार रुपैयाँमा सीमित थियो।
सम्पत्तिको गुणस्तरमा भने मिश्रित अवस्था देखिएको छ। खराब कर्जा ५.०६ प्रतिशतबाट घटेर ४.९८ प्रतिशतमा झरेको छ। इम्पेरमेन्ट चार्ज १ अर्ब ९६ करोड ५४ लाख ४१ हजार रुपैयाँ कायम भएको छ।
नाफा वृद्धिसँगै बैंकको प्रति शेयर आम्दानी पनि १० रुपैयाँ ७१ पैसाबाट बढेर १३ रुपैयाँ २५ पैसा पुगेको छ। यसले बैंकको समग्र वित्तीय प्रदर्शनमा सुधार संकेत गरेको छ।
लाभांश क्षमतामा पनि सुधार देखिएको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १४ लाख ४२ हजार रुपैयाँ रहेको छ। यद्यपि गत वर्ष यो १ अर्ब ९१ करोड १० लाख ३१ हजार रुपैयाँ थियो।
हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख २० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ अर्ब ४१ करोड ६२ लाख ३५ हजार रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ १९ पैसा पुगेको छ।
व्यवसाय विस्तारतर्फ, बैंकले चैत मसान्तसम्म २ खर्ब ९१ अर्ब ८ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ करोड १२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप लागत ३.३५ प्रतिशत र आधार दर ५.०१ प्रतिशत रहेको छ, जसले लागत व्यवस्थापन र सञ्चालन दक्षतामा सुधार भइरहेको संकेत दिएको छ।
