काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाएको हो।
कालोसूचीमा परेका कम्पनीहरूमा अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी निर्माण सेवा, अंसुमन निर्माण सेवा र अच्युत कन्स्ट्रक्सन रहेका छन्। यी छ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
त्यसैगरी, नेपाल विद्युत प्राधिकरणको सिफारिसमा इटालीको कम्पनी एम/एस ईएलसी इलेक्ट्रोकन्सल्ट लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
कार्यालयले मंगलबार जारी गरेको सूचनामा सार्वजनिक खरिद प्रक्रियामा देखिएका कमजोरी र सम्झौता उल्लंघनका कारण कारबाही गरिएको उल्लेख छ। यस निर्णयसँगै ती कम्पनीहरूलाई तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन प्रतिबन्ध लागेको छ।
