चर्चित गीत ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ आजपनि उत्तिकै चर्चित छ र उत्तिकै कर्णप्रिय लाग्छ । ग्रामीणदेखि शहरीया नेपालीहरुले सदावहार गुनगुनाइरहेका छन् । फरक शब्द, लय र प्रस्तुतिका कारण गीतको भाव आजसम्म जीवन्त छ ।
वि.सं. २०५४–५५ तिर सार्वजनिक भएको गीतले नेपाली आधुनिक गीतसंगीतमा छुट्टै पहिचान बनाएको छ ।
सरल तर भावपूर्ण शब्द, आकर्षक संगीत संयोजन र चलचित्र ‘माइली’मार्फत सार्वजनिक भएको गीत दशकौंदेखि लोकप्रिय छ ।
विभिन्न सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय नृत्य र महोत्सवहरूमा गीत घन्किनेगरेको छ ।
कसरी रचना भयो गीत ?
‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’कसरी रचना भयो भन्ने रोचक कथा सार्वजनिक छ । यो गीत कुनै योजनाबद्ध रूपमा नभई संयोग र सिर्जनात्मक क्षणबाट जन्मिएको छ ।
,‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’भन्ने गीत कसरी आयो भन्ने विषय रोचक छ । मेरो घर भएको स्थान चुँदीरम्गामा मेरो पुर्खाको खेत पनि छ । त्यो खेतको नाम ‘बाँझो खेत’ हो । त्यो खेतमा एकचोटी धान रोप्दारोप्दै एकजना रोपार महिलाको ढलेर मृत्यु भयो । त्यसपछि खेत रोप्न बन्द भयो । ३० –४० वर्षसम्म प्रसिद्ध भएको त्यो बाँझो भएका कारण चर्चामा आयो । बाँझो खेत शब्द त्यहींबाट जन्मियो । गीत चलचित्र माइलीका लागि लेखिएको थियो ।’
‘चलचित्र ‘माइली’ का लागि गीत लेख्ने क्रममा निर्देशक तथा संगीतकारसँग भएको अनौपचारिक छलफलका बेला अचानक ‘बाँझो खेतमा’ भन्ने शब्द उच्चारण भएको थियो । त्यही शब्दलाई संगीतकार शम्भुजित बाँस्कोटासँगको भेटमा ट्युनमा रूपान्तरण गरिँदा गीतको आधार तयार भएको छ ।
‘एकदिन राजेन्द्र सलभ ,म र शम्भुजित बाँस्कोटा तीनजना बसेर छलफल गर्दै थियौं, त्यही बेला हामीहरु मध्येको मुखबाट बाँझो खेतमा भन्ने शब्द निस्कियो । सोहीबेला हामीले त्यसलाई ट्युनअप गर्यौं । त्यसलाई नै पछि लयबद्ध गर्यौं । त्यो एउटा संयोग पनि थियो । यही खेतको लागि गीत लेख्छु भनेर लेखेको होइन । शम्भुजित बाँस्कोटाजीका कारण र मलाई मन परेका कारण गीतमा समावेश भएको हो ।’
यो गीत कुनै खेतको वर्णनका लागि लेखिएको नभई चलचित्रको कथावस्तुका लागि तयार पारिएको हो । पछि यो गीत ‘माइली’ फिल्ममार्फत सार्वजनिक भएपछि अत्यन्त लोकप्रिय बन्न पुग्यो ।
वि.सं. २०५४–५५ तिर सार्वजनिक भएको गीतले पाँच–छ वर्षसम्म नेपाली संगीत बजारमा उच्च स्थान कायम राखेको छ ।
त्यतिबेलाका अन्य चर्चित गीतहरूलाई समेत पछि पार्दै यो गीत श्रोतामाझ लोकप्रिय बनेको थियो ।
गीतले युवापुस्तामा छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अहिले पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा यो गीतमा नृत्य र प्रस्तुति हुने गरेको बताए । छड्के सलाम भन्ने वाक्यांश नै युवाहरूबीच लोकप्रिय बनेको छ ।
गीतसँग जोडिएका आफ्ना व्यक्तिगत अनुभवहरू पनि छ । विभिन्न स्थानमा श्रोताहरूले गीत र कविता सुनेर देखाएको सम्मान आफ्नो लागि ठूलो प्रेरणा भएको छ ।
सिर्जना तब सफल हुन्छ जब त्यो श्रोतासँग भावनात्मक रूपमा जोडिन्छ, र ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई’ गीत त्यसैको उदाहरण हो।